काठमाडौँ, २७ असोज । नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो ।
चन्द्रघण्टा देवीको स्वरूप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने गर्छन् । नवरात्रको पहिलो दिन अस्ति आइतबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।
दोस्रो दिन हिजो पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रका अवसरमा काठमाण्डौ उपत्यकाका साथै देशका मुख्य शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि पुग्ने भक्तजनको भीड लाग्ने गर्छ ।









टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।