भालुवाङ १६ असोज । स्वतन्त्र विद्यार्थी युनियन ऐरावती आदर्श बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट उपलब्ध गराउन माग गरेको छ । स्ववियु सभापति विनोद कुमार सोनी सहितको टोलीले त्रिसिद्वेश्वरी राप्ती यातायात प्रालि र रोयल देउखुरी यातायात प्रालिलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीलाई सरकारले तोकेको यातायात सुविधा कार्यान्वयन गर्न आग्रह गरेको हो । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट ९सहुलियत० उपलब्ध गराउने निर्णय गरेको तथा सोको कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय दाङबाट समेत सार्वजनिक सूचना जारी भइसकेको उनीहरूले बुझाएको पत्रमा उल्लेख छ ।
सरकारी व्यवस्था हुँदाहुँदै पनि विद्यार्थीले तोकिएको सहुलियत प्राप्त गर्न नसकेको र यस विषयमा गुनासाहरू आइरहेको भन्दै देउखुरी क्षेत्रका सम्पूर्ण विद्यार्थीले वैध विद्यार्थी परिचयपत्र देखाएको अवस्थामा ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा उपलब्ध हुने व्यवस्था तत्काल कार्यान्वयन गर्न स्वतन्त्र विद्यार्थी युनियनले माग गरेको छ ।
विद्यार्थीलाई सरकारले निर्धारण गरेको सहुलियत कार्यान्वयन गर्नु सम्बन्धित यातायात व्यवसायीको समेत दायित्व भएको भन्दै युनियनले आफ्ना सवारीसाधन तथा चालक–सहचालकलाई आवश्यक निर्देशन दिन यातायात प्रालिसँग आग्रह गरेको छ । त्यस्तै आगामी दिनमा समेत विद्यार्थीलाई तोकिएको सहुलियत नदिएको गुनासो प्राप्त हुन आएमा कानुन बमोजिम पहल गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । स्ववियु सभापति विनोदकुमार सोनीले हस्ताक्षर गरेको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय दाङ र यातायात व्यवस्था कार्यालय दाङलाई समेत दिइएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।