२०८३ असोज १५ गते बिहिवार

दसैंमा खुद्रा नोट साट्न राष्ट्र बैंकले यसपालि छुट्टै मिति नतोक्ने

दाङ,१४ असोज । नेपाल राष्ट्र बैंकले यसपटक दसैंका लागि नयाँ नोट वितरण गर्न छुट्टै मिति तोकेको छैन । विगतमा जस्तो दसैंलाई लक्षित गरेर औपचारिक सूचना जारी गरी नयाँ नोट वितरण गर्नेभन्दा केन्द्रीय बैंकले नियमित सेवाकै रूपमा नोट सटही सुविधा उपलब्ध गराउने भएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार नोट सटही केन्द्रीय बैंकको नियमित काम भएकाले अब कुनै निश्चित चाडपर्वलाई मात्र लक्षित गरेर सेवा सञ्चालन गर्नेभन्दा बजारको माग र आवश्यकताअनुसार नोट उपलब्ध गराउने अभ्यास अघि बढाइएको छ ।

दसैंमा ठूलो संख्यामा सर्वसाधारणले नयाँ तथा खुद्रा नोट खोज्ने भएकाले विगतमा राष्ट्र बैंकले विशेष व्यवस्था गर्दै आएको थियो । दसैं मनाउने जनसंख्या ठूलो भएकाले यस अवधिमा नगद तथा खुद्रा नोटको माग बढ्ने गरेको दाहालले बताउनुभयो । तर, यसपटक भने कुनै विशेष जात, धर्म वा चाडपर्वलाई लक्षित गरेर नोट वितरण गर्नेभन्दा बजारको मागअनुसार नियमित रूपमा सटही सेवा उपलब्ध गराउने नीति लिइएको उहाँको भनाइ छ ।

बैंकको काउन्टरबाटै सटही राष्ट्र बैंकको बैंकिङ काउन्टरमा नियमित कार्यालय समयमा नोट सटही सेवा उपलब्ध रहेको दाहालले जानकारी दिनुभयो । यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले पनि राष्ट्र बैंकबाट पर्याप्त नयाँ तथा खुद्रा नोट लगिसकेका छन् । उनीहरूले आफ्ना ग्राहकको मागअनुसार नोट वितरण गरिरहेका छन् । यसपटक प्राकृतिक विपत्तिका कारण धेरै सर्वसाधारणका लागि दसैं विगतको जस्तो उत्सवमय नभएकाले पनि अघिल्ला वर्षहरूमा जस्तो छुट्टै सूचना जारी गरेर नयाँ नोट वितरण गर्ने व्यवस्था नगरिएको दाहालले बताउनुभयो ।

दुई बन्डलसम्म नोट साट्न पाइने राष्ट्र बैंकका अनुसार हाल सटहीका लागि जाने व्यक्तिले बढीमा दुई बन्डलसम्म नोट साट्न पाउनेछन् । एक बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट प्रत्येकका १०० थान रहनेछन् । अर्थात् एउटा बन्डलमा यी पाँचवटै दरका नोट समावेश हुनेछन् । तर, व्यक्तिगत प्रयोजनका लागि नयाँ नोट मात्र उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ । व्यापारिक प्रयोजनका लागि भने नयाँ तथा सुकिला नोटसमेत सटही सुविधा उपलब्ध गराइँदै आएको दाहालले बताउनुभयो । यससँगै यसपटक दसैंका लागि छुट्टै ‘नयाँ नोट वितरण’ कार्यक्रमभन्दा आवश्यकता र बजार मागअनुसार नियमित नोट सटही सेवालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।