२०८३ असोज ८ गते बिहिवार

नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

दाङ,८ असोज । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा थप सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ‘सिरिज २०२५’ अन्तर्गतको १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट साविककै आकारमा तर नयाँ रङ तथा सुरक्षण विशेषतासहित जारी गरिएको जनाएको हो। नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङको प्रयोग गरिएको छ। नोटको अग्रभागमा नेपालको पहिचानसँग जोडिएको सगरमाथाको चित्र राखिएको छ। त्यस्तै, लालीगुराँसको पानीछाप र ‘१०००’ अंकित पानीछापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।

दृष्टिविहीन व्यक्तिले स्पर्शबाटै नोटको दर पहिचान गर्न सकून् भन्ने उद्देश्यले रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन्। नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने विशेष सुरक्षण चिह्नसमेत राखिएको छ। त्यस्तै, सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो नयाँ नोटको अर्को महत्वपूर्ण विशेषता हो। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको पृष्ठभागमा भने चितवनस्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ। नेपालको जैविक विविधता तथा वन्यजन्तु संरक्षणको सन्देश झल्काउने गरी उनीहरूको चित्र समावेश गरिएको हो।

त्यसैगरी, नेपालको सातवटा प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृतिसमेत नोटको पृष्ठभागमा राखिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ १ हजार रुपैयाँको नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको ‘सिरिज २०१९’ को १ हजार रुपैयाँ दरको नोट भने ६८२००००१ देखि ९१४४०००० सम्मका संकेत नम्बरमा मात्र चलनचल्तीमा ल्याइएको थियो। नयाँ नोट चलनचल्तीमा आए पनि यसअघि जारी भएका १ हजार रुपैयाँ दरका नोटहरू भने यथावत् रूपमा चलनचल्तीमा रहनेछन्।।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।