काठमाडौँ, ३ असोज । बाँकेको नेपालगंजबाट प्रहरीले लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौँका अनुसार ब्यूरोको शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. ३ बाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ३२ वर्षीय मोहम्मद हसीन अन्सारी र २५ वर्षीय समीर अहमद अन्सारी रहेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ३५.९०० ग्राम खैरो हेरोइन बरामद गरेको हो। यसका साथै प्रहरीले उनीहरूको साथबाट ७३ हजार ७०० रुपैयाँ नगद, ५ थान मोबाइल र नापतौलका लागि प्रयोग गरिने १ थान डिजिटल तराजु समेत बरामद गरेको ब्यूरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिनुभयो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।