दाङ,३ असोज । दाङमा बिलबिजक विनाका मोबाइलका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। गढवा गाउँपालिका–१, कालाकाटेबाट प्रहरीले मोबाइलका डिस्प्ले, एअरपड, चार्जर चिप्स तथा मोबाइल कभर बरामद गरेको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालाकाटेमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब १० बजे सवारीसाधन तथा सामान चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका उक्त सामान फेला पारेको हो।
प्रहरीका अनुसार ९ वटा बट्टामा राखिएका मोबाइलका १४४ थान डिस्प्ले, एप्पल कम्पनीका ४७ थान एअरपड, ७ थान चार्जर चिप्स र ३ थान मोबाइल कभर बरामद गरिएको छ। बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।