दाङ,२ असोज । दाङको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारीले पदबाट राजीनामा दिएका छन्। शुक्रबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरेर भण्डारीले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् । संस्थाका अध्यक्षलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भण्डारीले संस्था भित्रको कार्यशैली, कर्मचारीलाई अतिरिक्त सुविधा दिने विषय, बैंक खाता सञ्चालन तथा संस्थागत निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै पदबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन्।
भण्डारीले कर्मचारीलाई विधान तथा प्रचलित व्यवस्थाभन्दा बाहिर गएर अतिरिक्त सुविधारभत्ता उपलब्ध गराउँदा संस्थामाथि वार्षिक करिब ४ लाख रुपैयाँ बराबरको थप आर्थिक भार पर्ने अवस्था देखिएको दाबी गरेका छन्। संस्थाको आर्थिक अनुशासन, पारदर्शिता र उपभोक्ताको हितलाई केन्द्रमा राखेर आफूले पटक–पटक प्रश्न उठाउँदै आएको उनको भनाइ छ। यस्तै, आफ्नो व्यक्तिगत बैंकिङ समस्यालाई संस्थाको आर्थिक कारोबारसँग जोडेर सामाजिक तथा राजनीतिक विषय बनाइएको भन्दै उनले आपत्ति जनाएका छन्। बैंक खाता सञ्चालनसम्बन्धी विषयमा आवश्यक कानुनी तथा संस्थागत समाधान खोज्न आफूले आग्रह गरे पनि त्यसतर्फ पर्याप्त गम्भीरता नदेखाइएको भण्डारीको आरोप छ।
उनले आफू कुनै राजनीतिक दलको प्रतिनिधिका रूपमा निर्वाचित नभएको र संस्थामा स्वतन्त्र रूपमा काम गरेको उल्लेख गर्दै आफ्नो असहमति वा निर्णयलाई राजनीतिक दलसँग जोडेर व्याख्या नगर्न आग्रह गरेका छन्। राजीनामा पत्रमा भण्डारीले आफू संस्थाबाट भाग्न नभई संस्थाको हित, पारदर्शिता र उपभोक्ताको अधिकारका पक्षमा आवाज उठाउँदै पदबाट अलग भएको उल्लेख गरेका छन्। उनले आफू पदमा नरहे पनि संस्थाको उपभोक्ता भएकाले संस्थाको गतिविधि निगरानी गर्ने अधिकार कायमै रहने बताएका छन्। उनले आफ्नो राजीनामा, आपत्ति, स्पष्टीकरण तथा भविष्यमा आवश्यक कानुनी उपचारका लागि पेश गरिएको दस्तावेज संस्थाको अभिलेखमा राखी प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन्।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।