दाङ,२८ भदौ । दाङको तुलसीपुरमा कपाल काट्ने सैलुनलाई माध्यम बनाएर अवैध लागुऔषध ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा १९ वर्षीय सैलुन सञ्चालक दीपक बि.क., २१ वर्षीय आकास चौधरी, २४ वर्षीय ध्यानी बाँठा मगर र २० वर्षीय राजन के.सी. रहेका छन ्। पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्दामा कारबाही प्रक्रिया अघि बढाउन दाङ जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) डा. हेम बहादुर के.सी. ले जानकारी दिनुभयो।
उहाँका अनुसार तुलसीपुर उप–महानगरपालिका वडा नं. ११ उरहरीस्थित एक हेयर सैलुनमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरको संयुक्त टोलीले उक्त अपरेसन चलाएको थियो। सैलुनमा बसिरहेका व्यक्तिहरूको शङ्कास्पद गतिविधि देखिएपछि प्रहरीले खानतलासी गर्दा सैलुन सञ्चालक १९ वर्षीय दीपक बि.क. को साथबाट ३.१४० ग्राम र सोही स्थानमा लुकाईछिपाई राखेको अवस्थामा थप १३.३३० ग्राम गरी जम्मा १६.४७० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरको प्रहरीले जनाएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।