दाङ,२८ भदौ । रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट पालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जीप वडा नम्बर ३ र ६ को सीमाना पर्ने डाङडुङ्गेमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका–रुघाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की प्रेमकला पुनको मृत्यु भएको छ। दुर्घटनामा जीपधनीसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर आवश्यक परेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेको उद्धार तथा उपचारका लागि सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गर्दै हेलिकप्टरको व्यवस्था गर्न माग गरेको छ। दुर्घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।