धनुषा, २५ भदौ । धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ स्थित स्वास्थ्य निर्देशनालय अगाडि जनकपुर–ढल्केबर सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जनकपुरबाट महेन्द्रनगरतर्फ जादै गरेको बा.प्र. ०२–०६६ प ५९४२ नम्बरको बुलेट मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको ज ८ प ३५०९ नम्बरको ग्लामर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बुलेट मोटरसाइकल चालकको तत्काल नामथर, ठेगाना नखुलेका अन्दाजी २५ वर्षीय पुरुष घाइते भएका थिए । निजको खल्तीमा रहेको सवारी चालक अनुमतिपत्रको नगदी रसिदका आधारमा सुमन यादव रहेको खुलेको छ । यादवको उपचारका क्रममा मृत्यु भएको छ भने सोही मोटरसाइकलको पछाडि सवार जिल्ला सिरहा नरहा गाउँपालिका –०५ बस्ने अन्दाजी २५ वर्षीय सुभाष यादव घाइते भएका छन् । त्यस्तै, अर्को मोटरसाइकलका चालक धनुषा, लक्ष्मिनिया गाउँपालिका –०६ बस्ने अन्दाजी ३१ वर्षीय मनोज कुमार यादव समेत घाइते भएका छन् । घाइतेहरुको जानकी मेडिकल कलेज रमदैया धनुषामा उपचार भइरहेको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।