दाङ,१७ भदौ । दाङमा नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या पछिल्ला तीन आर्थिक वर्षदेखि निरन्तर घट्दै गएको छ। स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या क्रमशः घटेको हो। कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दाङमा ४२ जना नयाँ एचआईभी सङ्क्रमित फेला परेका थिए। आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्या घटेर ३७ जनामा पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा अझ घटेर ३१ जनामा सीमित भएको छ। नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि दाङमा एचआईभी सङ्क्रमितको कुल सङ्ख्या भने बढ्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ४२९ जना एचआईभी सङ्क्रमित रहेकामा २०८१/८२ मा यो सङ्ख्या बढेर ४५८ पुगेको थियो। आर्थिक वर्ष २०८२/८३ मा थप ३१ जना नयाँ सङ्क्रमित पहिचान भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।
स्वास्थ्य कार्यालय दाङका क्षय, कुष्ठ तथा पोषण रोग फोकल पर्सन गजेन्द्र यादवका अनुसार एचआईभी सङ्क्रमितका लागि उपलब्ध गराइँदै आएको एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) उपचार सेवामा रहेका व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा ४२९ जना एआरटी सेवामा रहेकामा २०८१/८२ मा ४५८ जना र २०८२/८३ मा ४८७ जना पुगेका छन्। यादवका अनुसार एचआईभीसम्बन्धी नागरिकमा बढ्दै गएको सचेतना, नियमित परीक्षण तथा उपचार सेवाको पहुँच विस्तारका कारण नयाँ सङ्क्रमित पहिचान हुने क्रम नियन्त्रणतर्फ गएको हो।
दाङमा एचआईभी परीक्षण तथा उपचार सेवा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट नियमित रूपमा प्रदान हुँदै आएको छ। यी स्वास्थ्य संस्थाबाट एचआईभी परीक्षणसँगै सङ्क्रमितलाई आवश्यक परामर्श तथा एआरटी उपचार सेवा उपलब्ध गराइँदै आएको छ। स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा १९ हजार ४८१ जना गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये पाँच जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या घट्नु सकारात्मक संकेत भए पनि सङ्क्रमितको पहिचान, नियमित उपचारमा पहुँच र समुदायस्तरमा सचेतना अभिवृद्धिलाई निरन्तरता दिनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।