२०८३ भाद्र १७ गते बुधवार

दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा धुव्र कुमार गहतराजको उम्मेदवारी घोषणा

फोटो फाईल

तुलसीपुर, १७ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सभापति तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका वर्तमान उद्योग उपाध्यक्ष धुव्र कुमार गहतराजले संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा आफनो उम्मेदवारी घोषणा गर्नुभएको छ । घोराहीमा लामो समयदेखि सुनचाँदी व्यवसाय संचालन गर्दै आउनुभएका गहतराजले व्यवसायीको हकहित संरक्षण, पारदर्शी नेतृत्व र जिल्लाको समग्र आर्थिक तथा व्यावसायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभएको छ ।

गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका गहतराज लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुँदै व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । पाल्पामा जन्मनुभएका उहाँ लामो समयदेखि घोराहीमा बसोबास गर्दै आउनुभएको छ । गहतराजका अनुसार उहाँले घोराहीमा पाल्पा भैरव सुनचाँदी गहना उद्योग तथा पाल्पा भैरव एण्ड सन्स सुनचाँदी गहना उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँ ग्यालेक्सी कलेज एकेडेमी प्रालिका पूर्वअध्यक्ष तथा बीजी एग्रीकल्चर कम्पनीमा समेत आबद्ध रही काम गरिसक्नुभएको छ ।

‘व्यवसायीका समस्या, चुनौती र आवश्यकतालाई नजिकबाट बुझेको छु,’ गहतराजले तुलसीपुर खबरसँगको कुराकानीमा भन्नुभयो, ‘व्यवसायीको हकहितसँगै संघलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै जिल्लाको आर्थिक विकासमा योगदान पुर्‍याउने सोचका साथ मैले नेतृत्व गर्न चाहेको हुँ।’ उहाँले साना, मझौला तथा ठूला व्यवसायीबीचको सहकार्य र एकतालाई प्राथमिकतामा राख्दै सबै व्यवसायीको साझा संस्थाका रूपमा दाङ जिल्ला उद्योग वाणिज्य संघलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

व्यवसायिक क्षेत्रसँगै विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तथा सक्रियताबाट हासिल गरेको लामो अनुभव, क्षमता र व्यवसायीका समस्याबारेको प्रत्यक्ष ज्ञानलाई संघको नेतृत्वमा उपयोग गर्ने उहाँको भनाइ छ ।दाङ जिल्ला उद्योग वाणिज्य संघको २१ औँ वार्षिक साधारण सभा तथा १८औँ अधिवेशन यही भदौ २० गते आयोजना हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि आगामी असोज १० गते निर्वाचन गर्ने मिति तय गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।