तुलसीपुर, १६ भदौ । सामाजिक उत्तरदायित्वअन्तर्गत राप्ती लाइफ केयर अस्पतालले बाढी प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। दाङको तुलसीपुरमा रहेको अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार १११ रुपैयाँ प्रदान गरेको हो। रसुवालगायत क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै अस्पतालले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।
अस्पतालका अध्यक्ष हरिप्रसाद रिजालले अस्पतालको भूमिका बिरामीको उपचारमा मात्र सीमित नरहेको बताउनुभयो। उहाँका अनुसार प्राकृतिक विपत्ति तथा आपतकालीन अवस्थामा नागरिकलाई सहयोग गर्नु पनि स्वास्थ्य संस्थाको जिम्मेवारी हो।राप्ती लाइफ केयर अस्पतालले यसअघि जाजरकोट भूकम्पदेखि कोरोना महामारीसम्म विभिन्न विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। कोरोना महामारीका बेला अस्पतालले ६ महिनासम्म स्थानीय नगरपालिकालाई निःशुल्क सेवा उपलब्ध गराएको थियो।
पश्चिम नेपालमा विगत २० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले विपद् तथा मानवीय संकटका समयमा सहयोगलाई निरन्तरता दिने जनाएको छ। अस्पतालले नागरिकको स्वास्थ्य सुरक्षासँगै सामाजिक सेवामा समेत आफ्नो भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अस्पतालका अध्यक्ष रिजालले यसअघि व्यक्तिगत रूपमा पनि २५ हजार रुपैयाँ राहत सहयोग प्रदान गरिसक्नुभएको थियो।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।