दाङ, ८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाले तीन जना नयाँ मन्त्री नियुक्तीका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको पत्र अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा -९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। पुनर्गठन सँगै तीन जना नयाँ मन्त्री थपिएका छन् भने यसअघि रहेका मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर गरिएको छ।
नयाँ नियुक्त हुने मन्त्रीहरूमा दीपेन्द्रकुमार पुन, इन्द्रजीत थारु र कृष्णा कुश्मा थारु रहनु भएको छ । पुनलाई स्वास्थ्य मन्त्रालय, थारुलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारुलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
पुनर्गठनपछि मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्नु भएको छ । प्रदेश प्रमुख कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार अब नयाँ नियुक्त मन्त्रीहरूलाई शपथ गराउने प्रक्रिया अघि बढ्नेछ। यसअघि पनि लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो। पछिल्लो पुनर्गठनसँगै सरकारमा नयाँ राजनीतिक समीकरण अनुसार मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो।





