भालुवाङ ५ भदौ । दाङको गढवा गाउँपालिकाका नागरिकहरूले गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा, सुविधा र सार्वजनिक महत्वका सूचनाहरू समयमै प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माण, सेवा–सुविधा, विभिन्न कार्यक्रम तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सूचना समयमा नागरिकसम्म नपुग्दा आफूहरू कतिपय अवसर र सेवाबाट बञ्चित हुने अवस्था आएको उनीहरूको भनाइ छ।
नागरिकहरूले गाउँपालिकाबाट हुने गतिविधिका बारेमा समयमै आवश्यक सूचना प्राप्त नहुँदा सम्बन्धित कार्यक्रममा सहभागी हुन तथा उपलब्ध सेवा लिन कठिनाइ हुने गरेको गरेका छन्। विशेषगरी गाउँपालिका र वडा कार्यालयबाट सूचना प्रवाह भए पनि ती सूचना सबै नागरिकसम्म समान रूपमा पुग्न नसकेको उनीहरूको गुनासो छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउनु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी भए पनि सूचना प्रवाहको प्रभावकारितामा अझै सुधार आवश्यक रहेको नागरिकहरूको भनाइ छ।
नागरिकहरूका अनुसार स्थानीय तहमा हुने विकास निर्माण तथा सार्वजनिक गतिविधिप्रति उनीहरूको चासो रहे पनि सूचना अभावका कारण कतिपय अवस्थामा प्रत्यक्ष रूपमा जोडिन नसक्ने अवस्था छ। स्थानीय सरकारका योजना तथा कार्यक्रमबारे नागरिकलाई जानकारी गराउने माध्यमका रूपमा वडा कार्यालय, टोल विकास संस्था, सार्वजनिक सूचना, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललगायतका माध्यम प्रयोग हुँदै आएका छन्। तर यी माध्यमको प्रयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
नागरिकहरूले आफूहरूको गुनासो केवल सूचना नपाएको विषयमा मात्र नभई स्थानीय सरकार र नागरिकबीचको समन्वयसँग पनि जोडिएको बताएका छन्। यता गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नागरिकबाट आएको गुनासोलाई सम्बोधन गर्दै गाउँपालिका तथा वडा कार्यालयबाट हुने सेवा प्रवाह र सूचना प्रणालीमा देखिएका कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यत्त गर्नुभएको छ । अध्यक्ष पोख्रेलले कार्यालय प्रवाह गर्ने हरेक सुचना पाउने नागरिकको अधिकारको विषय भएको भन्दै आगामी दिनमा सुधार गर्ने बताउनुभयो ।
उहाले गाउँपालिका तथा वडा कार्यालयबाट जारी हुने सूचना सम्बन्धित नागरिकसम्म समयमै पुग्ने गरी विभिन्न माध्यमको प्रयोग गरिने बताउनुभयो । स्थानीय सरकारका सेवा, सुविधा, कार्यक्रम तथा नागरिकसँग सम्बन्धित अन्य महत्वपूर्ण जानकारीलाई बढी व्यवस्थित रूपमा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको उहाको भनाई छ । अध्यक्ष पोख्रेलले नागरिकबाट आएका गुनासोलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै गाउँपालिका र वडा कार्यालयबाट सेवा प्रवाह गर्दा देखिएका समस्या पहिचान गरी आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिका र नागरिकबीचको सम्बन्धलाई प्रभावकारी बनाउन सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ। स्थानीय तहबाट हुने काम कारबाही, विकास निर्माण, योजना तथा नागरिकका लागि उपलब्ध सेवा सुविधाबारे नागरिकले समयमै जानकारी पाएमा उनीहरूको सहभागिता बढ्नुका साथै स्थानीय सरकारप्रतिको जवाफदेहिता र पारदर्शिता पनि बलियो हुने अपेक्षा गरिएको छ।





