सल्यान, ४ भदौ । सल्यान प्रहरीले आर्थिक वर्ष २०८३र८४ को पहिलो महिनामै १९ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा २४ जना पक्राउ परेका छन् । साथै, साउन महिनामा १० जना फरार प्रतिवादी पक्राउ पर्नुका साथै ११ नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । १९ वटा मुद्दामध्ये जघन्य तथा गम्भीर अपराधका तीन, बहुविवाहका दुई, बैंकिङ कसुरका चार र अन्य १० वटा मुद्दा दर्ता भएको जनाएको हो ।
पुराना मुद्दाका फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत साउनमा १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूलाई १८ वर्ष सात महिना २० दिन कैद सजाय तोकिएको थियो । साथै, उनीहरूबाट ६ लाख ७८ हजार ३२ रुपियाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । साउनमा छ वटा मुद्दा फर्छ्योट भएका छन् भने चालु तथा पेन्डिङ मुद्दाका २४ जना पक्राउ परेका छन् । प्रहरीमा परेका ८७ वटा ठाडो उजुरीसमेत सबै फर्छ्योट भएका छन् ।





