काठमाडौं,४ भदौ । अन्डाको मूल्य भदौ महिना लागेसँगै फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज बिहीबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो । चितवनलाई आधार मानेर तय गरिएको नयाँ फार्म समर्थन मूल्य अनुसार सबै प्रकारका अन्डाको भाउ महँगिएको छ । नयाँ मूल्यसूची अनुसार अब सबैभन्दा ठूलो एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ पुगेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३५ रुपैयाँ तोकिएको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।
संघले एक साता नबित्दै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो । यसअघि ३० साउनदेखि लागु हुने गरी संघले एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय ७५, ठूलो अन्डा ५ सय ६० र मिडियम अन्डा ५ सय २० रुपैयाँ तोकेको थियो । पछिल्लो समय अन्डाको मूल्य लगातार उकालो लागिरहेको छ । यसअघि संघले साउन महिनामा मात्रै अन्डाको समर्थन मूल्य चार पटक बढाएको थियो । साउनको सुरुमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय २५ रुपैयाँ तोकेको संघले साउनको अन्तिममा उक्त मूल्य ५ सय ७५ रुपैयाँ पुर्याएको थियो । भदौ लागेसँगै त्यसमा थप १५ रुपैयाँ बढाएर एक्सएल अन्डाको मूल्य ५९० रुपैयाँ पुर्याइएको हो । अन्डाको मूल्य लगातार बढ्नुमा उत्पादनमा आएको कमी मुख्य कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।





