२०८३ भाद्र ३ गते बुधवार

आपतविपतमा मानवीय व्यवहार गरौँ : मन्त्री अहिर

भालुवाङ ३ भदौ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले आपतविपत् तथा विपद्का बेला एक–अर्काप्रति मानवीय व्यवहार गर्दै सहयोग, उद्धार र राहतमा जुट्न सबै नागरिकलाई आग्रह गर्नुभएको हो । विश्व मानवीय दिवसका अवसरमा आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले बुधबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अहिरले आपतमा परेका व्यक्तिको तत्काल उद्धार गर्नु मानवीय धर्म भएको बताउनुभयो । उहाले विपद्, दुर्घटना वा अन्य संकटका बेला पीडितलाई सहयोग गर्नु राज्यका निकायको मात्र नभई प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गर्नुभयो ।

मन्त्री अहिरले विपद्का घटना जुनसुकै बेला र जुनसुकै स्थानमा हुन सक्ने भएकाले नागरिक तहसम्मै विपद् पूर्वतयारी र मानवीय सहयोगको संस्कार विकास गर्नुपर्ने बताउनुभयो । सो अवसरमा बोल्ने वक्ताहरूले सामाजिक सञ्जालमा सामग्री राख्ने उद्देश्यले दुर्घटना तथा विपद्का घटनाको फोटो–भिडियो खिच्ने प्रवृत्तिले मानवीय संवेदनामाथि नै प्रश्न उठाएको बताएका थिए । कार्यक्रममा सहभागीहरूले विपद् तथा दुर्घटनामा परेका व्यक्तिको उद्धारमा पहिलोपटक सहयोग गर्ने नागरिकलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको धारणा राखे। उनीहरूले विपद्का समयमा उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, नागरिक समाज, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि बताए।

विश्व मानवीय दिवसका अवसरमा आयोजित कार्यक्रममा पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा देखिएका विपद्का घटनामा मानवीय क्षति न्यूनीकरण, तत्काल उद्धार तथा राहत व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो। सो अवसरमा रोल्पाका विभिन्न स्थानमा केहि दिन अघि लगातार बर्षाका कारण आएको पहिरोका कारण ज्यान गुमाएका व्यक्तिहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ । साथै बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको थियो।

यस्तै गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसाल, पत्रकार सन्तोषकुमार गुप्ता लगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्य र सुपर परियोजना अन्तर्गत सिडिएमका विजयसिंह ठकुरीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया