२०८३ भाद्र १ गते सोमवार

म्यानपावर व्यवसायीको आन्दोलन स्थगित भयो

फोटो फाईल

काठमाण्डौ, १ भदौ । म्यानपावर व्यवसायीको आन्दोलन स्थगित भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले २२ साउनदेखि विभिन्न माग राख्दै थालेको आन्दोलन सरकारसँगको वार्तापछि स्थगित भएको हो। संघले सोमबारदेखि आन्दोलनलाई थप शसक्त बनाउने घोषणा गर्दै गन्तव्य मुलुकमा श्रमिक नपठाउन घोषणा गरेको थियो। सोमबार नै युवा, श्रम तथा रोजगार मन्त्रालयसँग भएको छलफलपछि सहमति गर्दै संघले आन्दोलनका कार्यक्रम स्थगित भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा व्यवसायीहरु आफ्नो नियमित काममा फर्किएको उल्लेख छ।

सोमबार मन्त्री र सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा संघले अघि सारेका १५ बुँदे मागबारे विस्तृत छलफल भएको थियो। मन्त्रालयले संघका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गर्ने समझदारी भएको छ।

उनीहरुबीच वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ। व्यवसायीका मागसँग सम्बन्धित विषयमा थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने र विभागबाट समाधान नभए कानुनबमोजिम मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार
प्रतिक्रिया