दाङ,३० साउन । रोल्पाको थबाङमा गएको बुधवार बेलुकी खसेको पहिरोमा परेर बेपत्ता भएका थप १ जनाको शव प्यूठानमा फेला परेको छ । प्यूठानको सरुमारानी गाउँपालिका–२ मा रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ गाउँपालिका–५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । यससँगै थबाङ पहिरोमा परेका १३ मध्ये १२ जनाको शव फेला परिसकेको छ भने ९ वर्षीय अशिम पुन मगर अझै बेपत्ता हुनुहुन्छ ।
पहिरोमा घाइते भएका २ जनाको बुटवलमा उपचार भइरहेको छ । बुधवार लेदोसहित खसेको विनाशकारी पहिरोले कोटलबारा गाउँका १३ वटा संरचना पूर्णरूपमा नष्ट गरेको थियो । यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकामा गएको बिहीवार गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको थियो । लगातार भारी बर्षाका कारण थवाङ र सुनछहरी गाउँपालिकामा पहिरोमा परेर २ दिनमै १६ जनाको मृत्यु भएको छ भने १ जना हराइरहेका छन् ।





