२०८३ साउन २८ गते बिहिवार

तुलसीपुरमा ट्राफिक व्यवस्थापन कडाइ, ह्विल लक र ट्राफिक कोण वितरण

 तुलसीपुर २८ साउन । तुलसीपुर बजारमा बढ्दो सवारी चाप र जथाभावी पार्किङ नियन्त्रण गर्न ट्राफिक प्रहरी र नगर प्रहरीलाई ह्विल लक तथा ट्राफिक कोण उपलब्ध गराइएको छ।
तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले बजार क्षेत्रको सडक अनुशासन कायम गर्न बिहीबार दुवै सुरक्षा निकायलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो।

 

बजार अनुगमन उपसमितिका संयोजक तुलाराम नेपालीको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटीले ट्राफिक प्रहरी र नगर प्रहरीलाई समान रूपमा ६–६ थान ह्विल लक र ६–६ थान ट्राफिक कोण वितरण गर्नुभयो ।उपमहानगरपालिकाका अनुसार निषेधित स्थानमा पार्किङ गर्ने सवारी साधनलाई ह्विल लकमार्फत नियन्त्रणमा लिइनेछ। ट्राफिक कोण भने अस्थायी लेन निर्माण, एकतर्फी आवागमन तथा सडक डाइभर्सन व्यवस्थापनमा प्रयोग गरिनेछ।उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बढ्दो सवारी चापका कारण बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै नयाँ उपकरणको प्रयोगले जथाभावी पार्किङ नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो।

 

यसैबीच तुलसीपुरको ‘ग’ लाइन क्षेत्रमा अत्यधिक भिडभाड बढेपछि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म ठूला सवारी साधन पार्किङमा रोक लगाइएको छ। दुईपांग्रे सवारी साधनका लागि भने निश्चित पार्किङस्थल तोकिएको उपमहानगरपालिकाले जनाएको छ।तोकिएको स्थानबाहिर पार्किङ गर्ने सवारी साधनमाथि नियमअनुसार कारबाही गरिने उपमहानगरपालिकाले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया