काठमाण्डौ, २८ साउन । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी उहाको निवास खानतलासी हुनुका साथै मिडियाको कार्यालयमा प्रवेश गरी कम्प्युटर लगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि समाचार प्रति असहमति वा चित्त नबुझेमा कानुनी बाटो अपनाएर काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ।
साथै पत्रकार तथा सञ्चारमाध्यमलाई पनि पेशागत मर्यादा, आचारसंहिता र जिम्मेवार पत्रकारिताको परिधिभित्र रहेर सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न काउन्सिलले सचेत गराएको छ। श्रेष्ठलाई प्रहरीले हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार जनआस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । पत्रकार श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघले विनासर्त रिहाईको माग गर्दै धर्ना दिएको छ भने चौतर्फी विरोध भईरहेको छ ।





