तुलसीपुर,२५ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को अवसरमा तुलसीपुरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आँखा शिविर सम्पन्न भएको छ। शिविरमा २३० जनाले आँखाको परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन्। नगर युवा परिषद् तुलसीपुर र नगरस्तरीय युवा सञ्जालको आयोजना तथा रवि आई केयर सेन्टर, तुलसीपुर–५ को प्राविधिक सहयोगमा तुलसीपुर–२ स्थित माध्यमिक विद्यालय बालापुरमा आँखा शिविर सञ्चालन गरिएको हो।
शिविरमा कक्षा ९ र १० तथा जनप्रेमी बोर्डिङ स्कुलका कक्षा ८ र ९ का विद्यार्थीहरूले आँखाको परीक्षण गराएका हुन् । नगर युवा परिषद्का उपाध्यक्ष प्रकाश रावतको अध्यक्षता एवं पुर्व मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै पुर्व मेयर पाण्डेले युवाहरू राष्ट्रको महत्वपूर्ण शक्ति भएकाले उनीहरूको स्वास्थ्य, शिक्षा, क्षमता विकास र नेतृत्व विकासमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी युवाको आवश्यकता र समस्यासँग जोडेर रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो। थियो।
यस्तै वडा अध्यक्ष भीम योगीले युवाहरुलाई रचानात्मक कार्यमा लगाउनु पर्नेमा जोड दिनु भएको हो । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर केसी, विद्यालय व्यवस्थापन समिति सदस्य मोहन गिरी, जनप्रेमी बोर्डिङ स्कुलका प्रिन्सिपल नवीनकुमार शर्मा, युवा सञ्जाल सदस्य सुभम देवकोटा, केबी ओली लगाएतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक गणेशमान खड्काको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण नगरस्तरीय युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो।





