२०८३ साउन २४ गते आइतवार

लेखक युवराज भण्डारीको तेस्रो कृति आफन्त र आँसु उपन्यासको विमोचन

भालुवाङ २४ साउन । लेखक युवराज भण्डारीको तेस्रो कृति आफन्त र आँसु उपन्यासको विमोचन गरिएको छ । प्युठानको नौबहिनी गाउँपालिका-८ मा २०४८ साल माघ १० गते जन्मिएर हाल लमही नगरपालिका-६ देउखुरी दाङमा बस्दै आएका भण्डारीको तेस्रो कृति राप्ती गाउँपालिका-३ मसुरियामा एक समारोहका बीच विमोचन गरिएको हो । कृतिको विमोचन वरिष्ठ साहित्यकार राधा न्यौपानेले गर्नुभयो । भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना एवम् देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको संयोजनमा कृतिको विमोचन गरिएको हो । कृतिको समिक्षा डा. मोना केसी र जिवराज शर्माले गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष मेनुकादेवी रेग्मीको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार राधा न्यौपानेको प्रमुख आतिथ्यतामा भएको समारोहमा देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङका अध्यक्ष निमबहादुर थापा, लुम्बिनी वाङमय प्रतिष्ठान दाङका अध्यक्ष सुरेश कुमार पाण्डे, थारू भाषा साहित्य संस्कृति प्रतिष्ठान दाङका अध्यक्ष छविलाल कोपिला, नागरिक समाज दाङका सदस्य दामोदर भण्डारी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, झिल्का साहित्य समाजका अध्यक्ष अनुभव, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष हिमाली न्यौपाने, साहित्यकार कपिलकिशोर घिमिरे, साहित्यकार शेषमणी घिमिरे, सहकारी संस्थाका सल्लाहकार किरण भण्डारी, संस्थाकी दया भण्डारी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा अभियान्ता बाबू रोका मगरले कविता बाचन गर्नुभएको थियो । साहित्यकार कृष्ण गिरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका लेखा संयोजक सोनु भण्डारीले गर्नुभएको थियो । युवराज भण्डारीले २०६५ मा उर्लदो भेल कविता संग्रह, २०७१ मा धर्ती आकाश गजल संग्रह प्रकाशन गरिसक्नु भएको छ । । बुवा भिउसीन भण्डारी र आमा ठइ कुमारी भण्डारीको कोखबाट जन्मिएका युवराजको जीवन संगेनी मनिसा केसी , छोरा मिश्रण भण्डारी र छोरी आकांक्षा भण्डारी रहेका छन् ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार
प्रतिक्रिया