२०८३ साउन २० गते बुधवार

दाङका जंगलबाट ५५ अवैध भरुवा बन्दुक बरामद

 दाङ, २० साउन । दाङ जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ थान अवैध भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय दाङले विशेष अभियान सञ्चालन गरी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, जंगलमा भरुवा बन्दुक लुकाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा विभिन्न स्थानबाट उक्त बन्दुकहरू फेला पारिएको हो।

बरामद गरिएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सबैभन्दा बढी बन्दुक बंगलाचुली गाउँपालिका अन्तर्गतका विभिन्न सामुदायिक वन क्षेत्रबाट बरामद भएका छन्। त्यस्तै लमही नगरपालिका र बबई गाउँपालिका का वन क्षेत्रमा लुकाइ राखिएका बन्दुकसमेत फेला परेका छन्। बरामद भएका बन्दुकमध्ये: इलाका प्रहरी कार्यालय कमिरेचौर बाट खटिएको टोलीले विभिन्न वन क्षेत्रबाट ३० थान, इलाका प्रहरी कार्यालय अमिलिया बाट खटिएको टोलीले १ थान, प्रहरी चौकी रामपुर बाट खटिएको टोलीले १३ थान, र प्रहरी चौकी हासीपुर बाट खटिएको टोलीले ११ थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ। प्रहरीले यस्ता अवैध हतियारको खोजी तथा नियन्त्रण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। साथै, अवैध हतियार लुकाइ राखिएको वा प्रयोग भइरहेको जानकारी भएमा तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
प्रतिक्रिया