२०८३ साउन १३ गते बुधवार

आज विश्व बाघ दिवस मनाईदै

काठमाण्डौ, १३ साउन । आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्ने भएको छ ।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

विश्वमा सन् २०१० मा झण्डै तीन हजार २०० को सङ्ख्यामा रहेको बाघको सङ्ख्या सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ । सन् २०१० मा रुसमा भएको बाघ शिखर सम्मेलनबाट यसको सङ्ख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यअनुरुप नेपालले बाघको संरक्षण र सङ्ख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया