काठमाण्डौ, ११ साउन । सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उदघाटन भएको छ । आज विहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङमार्गको औपचारिक उदघाटन गर्नुभएको हो । काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो, यसले काठमाण्डौ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ । अब केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ ।
यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरु अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ । सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाडीहरुका लागि सुरुङमार्ग खुला गरिने सडक विभागले जनाएको छ ।परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाडीहरुबाट कुनै शुल्क नलिइने पनि विभागले जनाएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सडक र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै एक घन्टासम्म समय बचत हुने अपेक्षा छ । साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाडीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ । सुरुङमार्गको लम्बाइ झण्डै साढे दुई किलोमिटर रहेको छ ।





