तुलसीपुर, ५ श्रावण । दाङको तुलसीपुरमा इलाका प्रशासन कार्यालयको सरकारी गाडी बिदाको दिन असम्बन्धित व्यक्तिले चलाउँदा दुर्घटना भएको खुलेको छ । सरकारी कामका लागि प्रयोग हुनुपर्ने गाडी चालक बाहेकका व्यक्तिले चलाएको अवस्थामा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । आइतबार सार्वजनिक बिदाको दिन बेलुका ७ बजेतिर तुलसीपुर विद्युत कार्यालय नजिकै इलाका प्रशासन कार्यालय तुलसीपुरको रा १ झ २३२ नम्बरको सरकारी गाडी र तुलसीपुरतर्फ आउँदै गरेको लु २२ प ८५०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–६ बरुवागाउँ निवासी २४ वर्षीय विशाल केसी र पछाडि सवार तुलसीपुर–५ निवासी २९ वर्षीय पारस कुँवर घाइते भएका छन् । घाइते दुवैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको थियो । घाइतेमध्ये एकजना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अर्का एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको सरकारी गाडीका आधिकारिक चालक इश्वरी रावत भए पनि दुर्घटनाको समयमा गाडी दंगिशरण गाउँपालिका–१ निवासी २९ वर्षीय मदन चौधरीले चलाएको खुलेको छ । सरकारी सवारी चालकको जिम्मेवारीमा रहेका व्यक्तिले गाडी अर्कै व्यक्तिलाई चलाउन दिएको विषयले सरकारी सवारी साधनको प्रयोग र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।
सार्वजनिक बिदाको दिन सरकारी गाडी कार्यालय प्रमुखलाई लिन जाने क्रममा दुर्घटनामा परेको स्रोतको दाबी छ । तर, इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज पौडेलले भने कार्यालयको सामान लिन जाने क्रममा गाडी दुर्घटनामा परेको बताउनुभएको छ । घटनाको वास्तविक प्रयोजनबारे भने फरक–फरक विवरण सार्वजनिक भएका छन् । दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारमा सरकारी गाडी पक्षबाट आवश्यक चासो नदिइएको परिवारको गुनासो छ । गाडीको ठक्करबाट घाइते भएका व्यक्तिको उपचार खर्च तथा क्षतिपूर्तिका विषयमा समस्या भइरहेको पारिवारिक स्रोतले जनाएको छ । घटनाका सम्बन्धमा सम्बन्धित पक्षसँग प्रहरीमार्फत छलफल भइरहेको इलाका प्रशासन कार्यालयका प्रमुख पौडेलले बताउनुभएको छ । सरकारी सवारी साधनलाई सार्वजनिक बिदाको दिन प्रयोग गर्नु, त्यसमा पनि कार्यालयका आधिकारिक चालक बाहेकका व्यक्तिलाई गाडी चलाउन दिनु र सोही क्रममा दुर्घटना हुनुका कारण घटनाले सरकारी गाडीको दुरुपयोग तथा जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।।





