२०८३ असार २८ गते आइतवार

प्रहरी चौकी चिराघाटलाई स्तरोन्नतिको माग गर्दै पत्रकार पाण्डले बुझाए सांसद सुवेदीलाई ज्ञापनपत्र

शान्तिनगर, असार २७ । शान्तिनगर गाउँपालिका–४ स्थित प्रहरी चौकी चिराघाटलाई (क) श्रेणीको इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गर्न माग गर्दै स्थानीय पत्रकार निराश पाण्डेले दाङ क्षेत्र नं. ३ कासांसद कमल सुवेदीलाई ज्ञापनपत्र बुझाउनु भएको छ । पत्रकार पाण्डेले शान्तिनगर गाउँपालिका–४ को वडा कार्यालय तथा शान्तिनगर गाउँपालिका कार्यालयको सिफारिससहित ज्ञापनपत्र बुझाएका हुन् साथै, जिल्ला प्रशासन कार्यालय दाङबाट समेत सिफारिस प्राप्त गर्न इमेलमार्फत निवेदन पेश गरिएको जानकारी दिइएको छ ।

प्रहरी चौकी चिराघाट २०४५ साल भदौ १२ गते अस्थायी प्रहरी चौकीका रूपमा स्थापना भएको थियो। पछि २०५४ सालमा स्थायी प्रहरी चौकीमा स्तरोन्नति गरिएको थियो। स्थापना भएको करिब ३८ वर्ष बितिसक्दा पनि चौकीको थप स्तरोन्नति हुन नसकेको स्थानीयको गुनासो छ । बढ्दो जनसंख्या, समाजमा भइरहेका विभिन्न प्रकारका अपराध तथा हिंसाका घटनामा वृद्धि र सीमित जनशक्ति तथा स्रोत–साधनका कारण हालको संरचनाबाट प्रभावकारी रूपमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकका गुनासो सम्बोधन गर्न कठिन हुँदै गएको भन्दै चौकीलाई (क) श्रेणीको इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गर्न माग गरिएको हो ।

ज्ञापनपत्र बुझ्दै सांसद कमल सुवेदीले प्रहरी चौकी चिराघाटको स्तरोन्नतिका लागि आफू यथाशीघ्र गृहमन्त्रीसँग भेट गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गनुभएको छ । हाल प्रहरी चौकी चिराघाट आफ्नै १६ कठ्ठा क्षेत्रफलको जग्गामा सञ्चालन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ असार २७ गते शनिवार
प्रतिक्रिया