२०८३ असार २६ गते शुक्रवार

लागुऔषध र साइबर अपराध विरुद्ध विद्यार्थीलाई सचेत बनाउँदै राप्ती प्रेस मञ्च

भालुवाङ २६ असार । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय युवापुस्ता लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा विभिन्न सामाजिक विकृतिको जोखिममा पर्दै गएको भन्दै यस्ता अपराध नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ। राप्ती प्रेस मञ्चले शुक्रबार दाङको राप्ती गाउँपालिका–४ मा रहेको श्री माध्यमिक विद्यालय मौरीघाटमा आयोजना गरेको लागुऔषध दुव्र्यसन, ट्राफिक सचेतना, साइबर अपराध, कानुनी साक्षरता तथा बालविवाह न्यूनीकरण सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले युवाहरू गलत संगत, अभिभावकीय निगरानीको कमी तथा सामाजिक परिवेशका कारण विभिन्न अपराधजन्य गतिविधितर्फ आकर्षित भइरहेको उल्लेख गर्नुभयो।

उहाँले समाजमा बढ्दो लागुऔषध प्रयोग, साइबर अपराध तथा सडक दुर्घटनाले गम्भीर चुनौती सिर्जना गरिरहेको बताउँदै विद्यार्थी अवस्थादेखि नै सही शिक्षा, अनुशासन र चेतनाको विकास गर्न सके भविष्यका धेरै समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो। राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक न्यायाधिवक्ता तेजप्रसाद पाण्डेले कानुनी साक्षरताको महत्वबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई कानुन विपरीत गतिविधिबाट टाढा रहन आग्रह गर्नुभयो। उहाँले राज्यले निषेध गरेका वस्तु तथा गतिविधिहरूको प्रयोग र संलग्नताले व्यक्तिको भविष्यमा गम्भीर असर पार्न सक्ने बताउनुभयो। पाण्डेले पछिल्लो समय किशोर तथा युवावर्गमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कानुनी सजायका विषयमा समेत जानकारी गराउनुभयो।

त्यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले लागुऔषध दुव्र्यसन र साइबर अपराध सम्बन्धी विस्तृत प्रशिक्षण दिनुभएको थियो। उहाँले चुरोट, मदिरा, गाँजा, ब्राउन सुगर लगायतका विभिन्न प्रकारका लागुऔषधबारे जानकारी दिँदै त्यसको प्रयोगले व्यक्तिको स्वास्थ्य, शिक्षा, पारिवारिक सम्बन्ध तथा भविष्यमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पार्नुभयो। प्रहरी निरीक्षक न्यौपानेका अनुसार साथीहरूको दबाब, गलत संगत, जिज्ञासा तथा सामाजिक प्रभावका कारण धेरै किशोर तथा युवा लागुऔषधको प्रयोगतर्फ आकर्षित हुने गरेका छन्। उहाँले विद्यार्थीहरूलाई कुनै पनि परिस्थितिमा लागुऔषध सेवन नगर्न, आफ्ना साथीभाइलाई पनि सचेत गराउन तथा शंकास्पद गतिविधि देखिए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।

प्रहरी निरीक्षक न्यौपानेले साइबर अपराधका विषयमा पनि विद्यार्थीहरूलाई सचेत गराउनुभयो। सामाजिक सञ्जाल तथा इन्टरनेटको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनाहरू समेत वृद्धि भइरहेको उल्लेख गर्दै उहाँले फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनुभयो। कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष् भालुवाङका कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रेमप्रसाद पोख्रेलले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले नेपालमा हुने अधिकांश सडक दुर्घटनाको प्रमुख कारण मानवीय लापरवाही रहेको बताउँदै ट्राफिक नियमको पालना सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। पोख्रेलले सडक प्रयोग गर्दा पैदल यात्रुले अपनाउनुपर्ने सावधानी, सवारी चालकले पालना गर्नुपर्ने नियम तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउनुभयो।

यसैगरी जीवन दृष्टि पुर्नस्थापना केन्द्रका सञ्चालक भूमिराज नेपालले दुव्र्यसनमा फसेका युवाहरूका वास्तविक अनुभव र उदाहरण प्रस्तुत गर्दै लागुऔषधको कुलतले कसरी व्यक्तिको जीवन बर्बाद पार्न सक्छ भन्ने विषयमा जानकारी दिनुभयो। उहाँले दुव्र्यसनमा परेका युवाहरूको उपचार, पुनःस्थापना तथा समाजमा पुनःएकीकरणका प्रक्रियाबारे पनि जानकारी गराउनुभयो। नेपालले गलत निर्णय, गलत संगत र क्षणिक आकर्षणका कारण धेरै युवाहरूको भविष्य अन्धकारतर्फ धकेलिएको बताउँदै विद्यार्थीहरूलाई सकारात्मक सोच, असल व्यवहार र सही जीवनशैली अपनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब १ सय ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, श्री माध्यमिक विद्यालय मौरीघाटका प्रधानाध्यापक गणेशप्रसाद शर्मा लगायतले बोल्नु भएको थियोे । राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो।।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया