तुलसीपुर, २६ असार । राप्ती बहिरा संघ दाङको आफ्नै भवन निर्माण कार्य सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिका–८, बुटनियास्थित संघको भवनको शुक्रवार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले शिलान्यास गर्नुभएको हो। तुलसीपुर उपमहानगरपालिकाबाट विनियोजित ५० लाख ७९ हजार रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको हो ।
भवनको शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले अपाङ्गता भएका व्यक्ति तथा बहिरा बालबालिकाको हक, अधिकार र क्षमता विकासका क्षेत्रमा संघले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै संस्थाको आफ्नै भवन निर्माणका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गरेको बताउनुभयो। उहाँले गुणस्तरीय तथा सुविधा सम्पन्न भवन निर्माण भई लक्षित समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। भवनले बहिरा समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा प्रवाह गर्न थप सहज हुने अपेक्षा गरिएको उहाले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, तुलसीपुर–८ का वडा अध्यक्ष धर्मराज वली, घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसी, राप्ती बहिरा संघ दाङका अध्यक्ष अजय शर्मा लगायतको सहभागिता रहेको थियो। भवन निर्माणको जिम्मा श्री गणपति निर्माण सेवाले पाएको छ। ठेक्का सम्झौता अनुसार २०८४ साल जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको इन्जिनियर पवनकुमार योगीले जानकारी दिनुभयो।






