काठमाण्डौ, २६ असार । जलनमा परेर गम्भिर घाईते भएका युवकको उपचारका क्रममा निधन भएको छ । मुगु जिल्लाको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर निधन भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
यस्तै वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ‘आईसीयू’ मा उपचाररत नेपालीको ज्यान गएको पुष्टि गर्नुभयो । यसअघि नेपालीको अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय भएको थियो । सरकारले नेपालीका लागि हवाई उद्धार -एअर एम्बुलेन्स) को व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय समेत भएको थियो ।
हिजो दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशतभन्दा धेरै भागमा जलन भएको थियो । नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आत्दाहको प्रयास गर्नुभएको थियो । नेपालीले विगत केहि महिना देखी काठमाण्डौमा रहेर पठाओको रुपमा काम गर्दै आउनु भएको थियो ।






