२०८३ असार २६ गते शुक्रवार

तुलसीपुर खबरमा प्रकाशित भिडियोप्रति चिन्तना धितालको खण्डन

तुलसीपुर,२६ असार । तुलसीपुर खबरले सामाजिक सञ्जालमार्फत प्रसारण गरेको भिडियोप्रति चिन्तना धितालले असहमति जनाउँदै खण्डन पठाउनुभएको छ । ‘गुरुकुल एकेडेमिका शिक्षिकाको आदेशमा विद्यार्थी कुटिए, कुटपिटबाट विद्यार्थीको कानको जाली फुट्यो’ शिर्षकमा असार १८ गते भिडियो साम्रगी प्रसारण गरिएको थियो ।

प्रेस काउन्सिल नेपाल मार्फत तुलसीपुर खबरलाई प्राप्त खण्डन पत्रमा धितालले भिडियोमा आफ्नो तस्बिर तथा भिडियो समावेश गरी प्रस्तुत गरिएको शैलीले आफूले नगरेका कार्यसँग सम्बन्धित रहेको आभास सिर्जना गरेको तथा आफ्नो चरित्र, व्यक्तित्व र सामाजिक प्रतिष्ठामा नकारात्मक असर परेको दाबी गर्नुभएको छ । उहाँले सम्बन्धित भिडियोमा आवश्यक संशोधन गरी आफ्नो तस्बिर तथा भिडियो हटाउन तथा आफ्नो खण्डन प्रकाशित गर्न अनुरोध समेत गर्नुभएको छ ।

यद्यपी तुलसीपुर खबर सत्य, तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्ने आफ्नो प्रतिबद्धतामा दृढ छ । सम्बन्धित सामग्री उपलब्ध प्रमाण, सूचना तथा पत्रकारिताको व्यावसायिक मापदण्डअनुसार तयार गरिएको हो । यदि सम्बन्धित पक्षसँग थप तथ्य, प्रमाण वा स्पष्टीकरण छन् भने त्यसलाई पनि पत्रकारिताको सिद्धान्तअनुसार स्थान दिन हामी तयार छौं । आवश्यक परे सम्बन्धित निकायले गर्ने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया