२०८३ असार २६ गते शुक्रवार

सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो

काठमाण्डौ,२६ असार । केही दिनयता निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार भने उकालो लागेको छ । चालु साताको पहिलो दिन आइतबारबाटै ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार भने उकालो लागेको हो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८७ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बिहीबार २ हजार ४०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको थियो । सोमबार ९०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ८९ हजार ४०० रुपैयाँ थियो । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, शुक्रबार चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १६० रुपैयाँले घटेर ४ हजार ३४० रुपैयाँमा झरेको थियो । बुधबार चाँदीको मूल्य ५५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर ४ हजार ५५५ रुपैयाँ थियो । सोमबार २० रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ५८५ रुपैयाँमा थियो । आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया