२०८३ असार २४ गते बुधवार

सल्यानको छत्रेश्वरीमा ‘अतिथि कक्षा’ सञ्चालन

 सल्यान, २४ असार। विद्यार्थीलाई अनुशासित, व्यवहारिक, जिम्मेवार र जीवनोपयोगी सीपयुक्त नागरिकका रूपमा विकास गर्ने उद्देश्यले छत्रेश्वरी गाउँपालिकाको आयोजनामा श्री त्रिभुवन जनता माध्यमिक विद्यालय, भोटेचौरमा ‘अतिथि कक्षा’ कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन विक्रम भण्डारीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत जीवराज खत्रीले विद्यार्थीलाई अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास, समयको सदुपयोग, नैतिक शिक्षा तथा जीवनका लक्ष्य निर्धारण सम्बन्धी प्रेरणादायी प्रशिक्षण दिनुभएको थियो।

उहाँले सफल जीवनका लागि अध्ययनसँगै असल व्यवहार, जिम्मेवारीबोध र आत्मविश्वासको विकास आवश्यक रहेको बताउनुभयो। त्यसैगरी गाउँपालिकाका योजना शाखा प्रमुख मनोज भण्डारीले आफ्ना अनुभव साझा गर्दै मेहनत, निरन्तर सिकाइ र सकारात्मक सोचले विद्यार्थीलाई सफलताको शिखरसम्म पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गरी भविष्यप्रति स्पष्ट लक्ष्य बनाएर अघि बढ्न आग्रह गर्नुभयो। सहायक प्रधानाध्यापक नेत्रलाल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका सूचना प्रविधि (आईटी) शाखा प्रमुख मिलन वलीले गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले अतिथि प्रशिक्षकसँग जिज्ञासा राख्दै खुला अन्तरक्रिया गरेका थिए। सहभागीहरूले यस्ता प्रेरणामूलक तथा व्यवहारिक कक्षा नियमित सञ्चालन भए विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन र अध्ययनप्रतिको लगाव अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। छत्रेश्वरी गाउँपालिकाले विद्यालय शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान, नैतिक मूल्य र जीवनोपयोगी सीपसँग जोड्ने उद्देश्यले यस्ता ‘अतिथि कक्षा’ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया