२०८३ असार २० गते शनिवार

दैलेख बस दुर्घटना : विशेष उपकरणसहित गोताखोर टोली परिचालन

फोटो फाईल

काठमाण्डौ,२० असार । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ साङ्गेताडाबाट कर्णाली नदीमा खसेको मिनिबस र बेपत्ता यात्रुको खोजीका लागि चितवनको कुरिनटारबाट विशेष उपकरणसहितको गोताखोर टोली परिचालन भएको छ ।सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली सोनार क्यामरा र चुम्बक सहित घटनास्थल पुगेको हो ।

ती उपकरणको प्रयोग गरी भोलीदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेकामध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ ।जोखे तिरुवाको शव फेला परिसकेको छ । प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार गाडी र अन्य चार जनाको खोजी भइरहेको छ । दुर्घटनाग्रस्त गाडीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया