काठमाण्डौ, १५ असार । आजदेखि पर्सिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३५ भन्दा बढी जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी ९पश्चिम०, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेल्धुरा र अछाम लगायत जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ ।
साथै मधेश प्रदेशका बागमती नदी प्रणालीसँग जोडिएका नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार पर्सिसम्म कोशी र नारायणी नदी प्रणालीका अधिकांश सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ ।






