सिसहनियाँ १४ असार । दाङको देउखुरी क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू बढ्दै गएका छन्। यसैक्रममा राप्ती गाउँपालिका–५ सिसहनियाँ स्थित एक घरमा गएराति ठूलो परिमाणमा धनमाल चोरी भएको छ। स्थानीय विष्णुकुमारी पुन रावतको घरमा कोही नभएको मौका छोपेर चोरले घरको मूल ढोका फोडी भित्र प्रवेश गरी सुनचाँदीका गरगहना तथा नगद चोरी गरेको प्रहरीले बताएको छ। पीडितका अनुसार चोरले करिब ४०–४२ तोला सुन, ५२ तोला चाँदी तथा करिब ३ लाख रुपैयाँ नगद चोरी गरेको छ।
चोरी भएका सुनचाँदी र नगदको मूल्य करोडौँ रुपैयाँ बराबर पर्ने अनुमान गरिएको छ। पीडित रावत दिनभर आफ्नै घरमा बस्ने र रातिको समयमा नजिकै रहेको भाइ चन्द्रबहादुर पुनको घरमा बस्दै आउनु भएको थियो। यही मौकामा चोरले नगद तथा गरगहना चोरी गरेको बताइएको छ। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिसहनियाँबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
यसअघि पनि राप्ती गाउँपालिका–१ पाखापानी क्षेत्रमा लगातार तीनवटा घरमा चोरी भएको घटना सार्वजनिक भएको थियो। पछिल्ला दिनमा देउखुरी क्षेत्रमा चोरीका घटनाहरू बढ्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन मागसमेत उठ्न थालेको छ।






