२०८३ असार १२ गते शुक्रवार

लक्ष्मी सनराइज बैंकद्वारा राप्ती बबई क्याम्पसलाई स्मार्ट बोर्ड सहयोग

तुलसीपुर १२ असार ।  शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने उद्देश्यले लक्ष्मी सनराइज बैंक, तुलसीपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत राप्ती बबई क्याम्पसलाई करिब १ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।शुक्रबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख गणेश पार्धेको अध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मीनराज ओलीको प्रमुख आतिथ्यता र बैंकका शाखा प्रबन्धक रञ्जन कोइरालाको विशिष्ट आतिथ्यतामा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले आधुनिक शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै स्मार्ट बोर्डले शिक्षणलाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रबाट सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षामा भइरहेको लगानी सराहनीय रहेको बताउँदै यस्ता सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि तथा शाखा प्रबन्धक कोइरालाले लक्ष्मी सनराइज बैंकले बैंकिङ सेवासँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। आधुनिक प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

क्याम्पस प्रमुख पार्धेले बैंकको सहयोगले क्याम्पसमा प्रविधिमैत्री शिक्षण वातावरण विस्तार गर्न महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै आवश्यकताको पहिचान गरी सहयोग गरेकोमा लक्ष्मी सनराइज बैंकप्रति आभार व्यक्त गर्नुभयो।कार्यक्रममा बैंकका प्रतिनिधि, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख सुशीलकुमार पन्थीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार
प्रतिक्रिया