काठमाण्डौ, ४ असार । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको घोषणा गर्नुभएको छ । उहाले आफू केही वर्षयता एट्रोफी सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिँदै नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको बताउनुभयो ।
स्वास्थ्य अवस्थाका कारण पार्टीका गतिविधि र जिम्मेवारीमा विगतझैँ सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्न कठिन हुँदै गएको उहाको भनाइ छ। बिहीबार जारी वक्तव्यमा महराले विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरण, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी हुँदै आएको उल्लेख गर्दै आफ्नो जीवनको महत्वपूर्ण समय पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उल्लेख गर्नुभएको छ ।
उहाले यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम भएको उल्लेख गर्नुभएको हो ।





