देउखुरी, ३ असार । सम्भावित भूकम्पीय विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, पूर्वसतर्कता र प्रभावकारी प्रतिकार्य अपरिहार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्। विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी टेबल टप अभ्यास बुधबार राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सुपर परियोजना युनिसेफको समन्वयमा भएको कार्यक्रममा विपद् आउनु अघि गरिनुपर्ने तयारी, विपद्को समयमा अपनाउनुपर्ने सुरक्षा उपाय तथा विभिन्न निकायबीचको समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा विशेषगरी भूकम्पजस्ता प्राकृतिक विपद्का बेला नागरिकले अपनाउनुपर्ने सावधानीका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। भूकम्प आउनुअघि घर तथा भवनलाई भूकम्प प्रतिरोधी बनाउने, घरभित्र रहेका सामग्री सुरक्षित रूपमा व्यवस्थापन गर्ने, आपत्कालीन उद्धार सामग्री तयारी अवस्थामा राख्ने तथा परिवारका सदस्यबीच सुरक्षित स्थान र सम्पर्क योजनाबारे पूर्वजानकारी गराउने विषयमा विशेष जोड दिइएको थियो।
त्यस्तै, भूकम्पका बेला आत्तिनुभन्दा सुरक्षित स्थानमा आश्रय लिने, जोखिमयुक्त तथा जीर्ण संरचनाबाट टाढा रहने र भूकम्पपश्चात् घाइतेको उद्धार, प्राथमिक उपचार, सुरक्षित आश्रय व्यवस्थापन, राहत तथा उद्धार सामग्रीको वितरण र क्षतिको यथार्थ मूल्याङ्कनका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै पूर्वतयारी, जनचेतना अभिवृद्धि, उद्धार तथा राहत सामग्रीको व्यवस्थापन, सुरक्षा निकाय र स्थानीय तहबीचको सहकार्य तथा विपद् प्रतिकार्य क्षमताको विकासमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको थियो। मन्त्रालयका सचिव सुशीला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. सिजन मल्ल, दामोदर भण्डारी र सुपर परियोजना युनिसेफका प्रदेश संयोजक डम्बर बोहराले प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन मन्त्रालयका विपद् फोकल पर्सन भूपबहादुर मल्लले गर्नुभएको थियो।






