काठमाण्डौ, ३ असार । वैदेशिक रोजगार व्यवसायीको विरोधपछि साउदी अरेबियाले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सीप परीक्षण कार्यक्रम अहिलेलाई स्थगित भएको छ । साउदीले आज काठमाण्डौको बसुन्धराबाट सामान्य श्रमिकका लागि ‘स्किल्स भेरिफिकेसन प्रोग्राम’ -एसभीपी) शुरू गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो ।
उद्घाटन कार्यक्रम चलिरहेकै बेला सयौँको सङ्ख्यामा पुगेका म्यानपावर व्यवसायीहरूले ‘साउदीको सिन्डिकेट खारेज गर’ भन्दै नाराबाजी गरेका थिए । आन्दोलित व्यवसायीहरूले कार्यक्रमस्थलको गेट र बोर्डसमेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदी राजदूतसमेत कार्यक्रममा सहभागी हुनुभएन । विरोधपछि इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले सूचना निकालेर आजैदेखि लागू हुने भनिएको यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जनाएको छ ।






