२०८३ असार २ गते मङ्गलवार

अश्वारा खानेपानीको मुहान क्षेत्र अनुगमन ,स्वच्छ पानीका लागि प्रशोधन केन्द्र आवश्यक

तुलसीपुर, २ असार । तुलसीपुर ८ मा रहेको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको पानी मुहानको आज अनुगमन गरिएको छ । समितिको मुहान क्षेत्र चुनेपहराको अनुगमन गरिएको समितिका सचिव दोर्ण आचार्यले जानकारी दिनुभयो । समितिका अध्यक्ष शिवहरी भण्डारीको अगुवाईमा भएको अनुगमन टोलीमा राष्ट्रिय साना शहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज वली, नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत, समितिका उपाध्यक्ष आसाराम भण्डारी, सचिव दोर्ण आचार्य, कोषाध्यक्ष होमबहादुर डाँगी र कार्यालय प्रमुख गंगाराम बस्नेत लगायतको सहभागिता रहेको थियो।

टोलीले अश्वारा खानेपानीको मुहान क्षेत्रको अनुगमन गर्दै स्वच्छ र सुरक्षित खानेपानीका लागि प्रशोधन केन्द्र निर्माण आवश्यक रहेकोमा जोड दिएको छ। खानेपानीको मुहान क्षेत्रको अवस्था, पानीको स्रोत, संरक्षणका उपाय, वितरण प्रणाली तथा वर्षायाममा देखिने समस्याबारे स्थलगत अवलोकन गरेको थियो। सो अवसरमा उपभोक्ता समितिका पदाधिकारीहरूले वर्षायाममा मुहानमा माटो, लेदो तथा अन्य फोहोर मिसिने समस्या बढ्ने गरेको र त्यसका कारण उपभोक्ताले धमिलो पानी प्रयोग गर्न बाध्य हुनुपरेको बताएका थिए।

उनीहरूले पानीको गुणस्तर सुधारका लागि प्रशोधन केन्द्र स्थापना गर्न महासंघमार्फत आवश्यक पहल गरिनुपर्ने मागसमेत गरेका छन्।अनुगमनपछि बोल्दै महासंघका केन्द्रीय अध्यक्ष वलीले स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै पानी प्रशोधन प्रणालीको सुधार तथा दीर्घकालीन योजनालाई अघि सार्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह, उपभोक्ता संस्था र सरोकारवालाबीच प्रभावकारी समन्वय मार्फत खानेपानी सम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। खानेपानी समितिका अध्यक्ष भण्डारीका अनुसार हालसम्म करिब ७ सय धारा वितरण गरिएको छ। उहाँले वर्षायाममा देखिने पानीको गुणस्तरसम्बन्धी समस्या समाधानका लागि प्रशोधन केन्द्र निर्माण अपरिहार्य रहेको बताउनुभयो।

प्रकाशित मिति : २०८३ असार २ गते मङ्गलवार
प्रतिक्रिया