दाङ २ असार । नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुनले मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिनुपर्ने बताउनुभएको छ।
लुम्बिनी प्रदेशमा मगर समुदायको जनसंख्या सबैभन्दा बढी अर्थात् करिब १४.६ प्रतिशत रहेको अवस्थामा पनि सरकारी कामकाजको भाषामा मगर भाषा समावेश हुन नसक्नु दुःखद रहेको उहाँले बताउनुभयो। भूम्या पर्वको अवसरमा नेपाल मगर संघ लुम्बिनी प्रदेशद्वारा दाङको राप्ती गाउँपालिका–३ सिरिचौर मसुरियामा आयोजित पाँच दिने प्रथम भूम्या महोत्सव, संस्कार सम्बन्धी अन्तरक्रिया तथा मगर साझा भवन निर्माण अभियानको उद्घाटन गर्दै प्रमुख अतिथि पुनले मगर समुदायले आफ्नो भाषा, संस्कृति, पहिचान र परम्पराको संरक्षणमा अझ सक्रिय हुनुपर्ने बताउनुभयो।
उहाँले मगर भाषाको प्रयोग घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै भाषा संरक्षणसँगै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष नवीन रोका मगर, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष जीवन रोका मगर, नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितु तराजु मगर, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य खडक बुढामगर, नेपाल मगर संघ रूपन्देहीका उपाध्यक्ष टेकबहादुर रेश्मी, सल्लाहकार समिति सदस्य गमबहादुर थापा मगर तथा नेपाल मगर संघ राप्तीका अध्यक्ष हिराबहादुर झार्की मगरलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र सहित सम्मान समेत गरिएको थियो । नेपाल मगर संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सञ्जीप थापा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव नरबहादुर घर्ती मगरले गर्नुभएको थियो। मगर सांस्कृतिक भवन निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको महोत्सव असार ५ गतेसम्म चल्नेछ।






