२०८३ जेष्ठ २८ गते बिहिवार

टिकुलीगढको जग्गा तथा घरटहरा खाली गराउने सूचना विरुद्ध उच्च अदालतको कारण देखाउ आदेश 

फोटो फाईल

दाङ २८ जेठ । उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जारी गरेको जग्गा तथा घरटहरा खाली गराउने सूचनाविरुद्ध परेको रिट निवेदनमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।न्यायाधीश नरबहादुर खड्काको एकल इजलासले देवीप्रसाद चौधरीसहितका निवेदकले दायर गरेको उत्प्रेषण तथा परमादेशको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अदालतले निवेदन, संलग्न कागजात तथा निवेदकतर्फका अधिवक्ताद्वय विष्णुप्रसाद धिताल र भागवत रेग्मीको बहस सुनेपछि निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो भन्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र उच्च सरकारी वकील कार्यालय तुलसीपुरमार्फत लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

रिट निवेदनमा आफूहरूका बाबुबाजे पुस्तादेखि दाङको साविक सोनपुर गाविस वडा नं. ५ हाल लमही नगरपालिका–३ नमुनाबस्ती टिकुलीगढस्थित जग्गामा घर, छाप्रो तथा टहरा निर्माण गरी बसोबास गर्दै आएको उल्लेख गरिएको छ । निवेदकहरूले उक्त जग्गा विपक्षी लुम्बिनी प्रदेश प्रहरी विद्यालयको नाममा २०४१ फागुन १८ गते दर्ता भएको देखिए पनि आफूहरू लामो समयदेखि त्यहाँ बसोबास गर्दै आएको दाबी गरेका छन् ।

निवेदनमा प्रहरी विद्यालयले यही जेठ १३ गते प्रकाशित गरेको घरजग्गा खाली गरिदिनेसम्बन्धी सूचनाले आफ्नो बसोबास तथा सम्पत्तिसम्बन्धी अधिकारमा प्रत्यक्ष असर पुगेको उल्लेख गरिएको छ । सोही कारण उक्त सूचना बदर गर्न र आवश्यक आदेश जारी गर्न माग गर्दै अदालत पुगेका हुन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार
प्रतिक्रिया