दाङ,२६ जेठ । प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सीमा विवादसम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान कायम रहेपछि सभामुखले बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित गर्नुभएको हो। बैठकको सुरुआतमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गर्न आग्रह गर्नुभएको थियो। संसदमा प्राय शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गर्ने प्रचलन रहे पनि आज प्रतिपक्षी दलहरूको पहलमा पाँच मिनेट मौनधारण गरिएको थियो।
यसप्रति सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउँदै प्रतिपक्षी बेन्चले संसद्को मर्यादा र सभाको सम्मानमाथि प्रश्न उठाएको टिप्पणी गर्नुभयो। उहाँले घटनाबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिनुभएको थियो। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्।
यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको छ। बैठकमा बोल्दै सांसद निश्कल राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, तथ्यहीन र आपत्तिजनक रहेको दाबी गर्दै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको छ।






