२०८३ जेष्ठ २५ गते सोमवार

देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा भने तातो हावा

काठमाडौँ, २५ जेठ ।  अहिले नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ । यसै प्रभावका कारण कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबारको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा, अनि बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ ।  यस्तै, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मौसम बिग्रेर मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ । बाँकी हिमाली र पहाडी भूभागका पनि एकदुई स्थानमा यस्तो मौसमी गतिविधि हुन सक्ने देखिएको छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया