२०८३ जेष्ठ २२ गते शुक्रवार

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ

फोटो फाईल

तुलसीपुर, २२ जेठ । दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१५ जानकीटोल क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विहिवार चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा प्युठानको स्वर्गद्वारी नगरपालिका–३ भिङ्ग्री निवासी २८ वर्षीय उत्तम सुनार, घोराही उपमहानगरपालिका–५ धर्नाका २५ वर्षीय विपिन केसी, सोही वडाको रतनपुर बस्ने २५ वर्षीय पुष्कर भण्डारी र रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ काभ्रा बस्ने २९ वर्षीय किरण थापा रहेका छन्।

प्रहरीले उनीहरू बसेको कोठा तथा शरीर खानतलासी गर्दा खुकुरी चुरोटको बट्टाभित्र लुकाइराखेको रातो र हरियो प्लास्टिकमा प्याक गरिएको दुई पुडिया ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। प्लास्टिक हटाई तौल गर्दा उक्त पदार्थ ३४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

यस्तै वडा प्रहरी कार्यालय घोराहीबाट स्वीप अपरेशनमा खटिएको प्रहरी टोलीले घोराही १४ नयाँबजार क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरूमा घोराही–१८ अम्बापुर बस्ने २८ वर्षीय विजय पोख्रेल र घोराही–१५ आइरनगेट टोल बस्ने १८ वर्षीय प्रदीप सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो । उनीहरूको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा साना दुई पुडियामा राखिएको ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको उहाले जानकारी दिनुभयो । दुवै घटनामा पक्राउ परेका ६ जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।केहि दिन अघि तुलसीपुरमा पनि प्रहरीले लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
प्रतिक्रिया