२०८३ जेष्ठ २१ गते बिहिवार

दाङमा ८ जना फरार प्रतिवादी पक्राउ

दाङ, २१ जेठ ।  फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले दाङ प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी खोजतलास अभियान अन्तर्गत विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ८ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जेठ १६ गतेदेखि १९ गतेसम्म विशेष अभियान सञ्चालन गरी विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत, घोराहीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल १० हजार १ सय रुपैयाँ जरिवाना असुल हुनुपर्ने तथा १ वर्ष १ महिना कैद सजाय बाँकी रहेको थियो । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा कानुनी शासनको प्रत्याभूति दिलाउने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।प्रहरीको यस अभियानले अदालतका फैसला कार्यान्वयनमा सहयोग पुग्नुका साथै अपराध नियन्त्रण र कानुनी व्यवस्थाप्रति नागरिकको विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार
प्रतिक्रिया