तुलसीपुर, १९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले थारू भाषाको विद्यालय सञ्चालनका लागी एउटा विद्यालयलाई अनुमती दिएको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरेको हो । दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठनपाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताउनुभयो ।
गुठीका रूपमा विद्यालय सञ्चालन गर्न दिने गरी अनुमति प्रदान गरिएको नगर प्रमुख खड्काले जानकारी दिनुभयो । स्थानीय रोहित चौधरीले तीन वर्षअघि थारू भाषाको विद्यालय सञ्चालनको अनुमतिका लागि उपमहानगरपालिकामा निवेदन दर्ता गराउनु भएको थियो । सोही निवेदनमाथि उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले अनुमती दिने निर्णय गरेको हो । अहिलेसम्म जिल्लामा थारू समुदायका लागि गुठी अन्तर्गत छुट्टै विद्यालय सञ्चालनमा छैन ।
उक्त विद्यालयलाई थारू भाषाबाट पढाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगरप्रमुख खड्काले बताउनुभयो । सबै थारू समुदायका विद्यार्थी त्यही पढ्न गएमा आवासीयसमेत बनाउन सकिने उहाको भनाइ छ । उपमहानगरपालिकाले देशमै यो नयाँ अभ्यास थालेको नगरप्रमुख खड्काले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको तुलसीपुरमा २१ प्रतिशत अर्थात कुल जनसंख्या मध्ये ३८ हजार ३२५ जनसंख्या थारू समुदायको बसोबास रहेको छ ।






